Thursday 24 October 2013

धर्मका आडमा चलेका परम्परामा सुधारको खाँचो


 जितमान बस्नेत 
वासिंङटन डीसी, नेपाली पोस्ट (for original publication click here)

एक दिन साथीसँग पाहाडे हिन्दूहरुको किरीया संस्कारको खराब पक्षको बारेमा कुरा गर्दै गर्दा हाम्रा बात चाख मानेर सुनिरहेकी मेरी आमाको मुख अध्यारो भयो । एउटा भएको छोराले पनि किरीया नगर्ने भो भन्ने आमालाई लागेको हुँदो हो । तरपनि केही प्रतिकृया दिनु भएन । आमाको अगाडि के यस्तो कुरा गर्नु भनेर प्रसंग नटुंगाई कुरा रोकियो । पाप, धर्म, मुक्ति र स्वर्गसँग जोडिएको कुरा भयो यो । किरीया नगरे मृतक स्वर्ग जाँदैनन् भन्ने मानसीकताले समाजलाई गाँजेको छ । त्यसैले कालन्तरदेखि
यो प्रथाको रुपमा आजसम्म कायम छ ।
अन्धविश्वासको रुपमा चल्दै आएका हाम्रा कतिपय सामाजिक परम्पराहरुलाई सुधारनु पर्ने देखिन्छ । तर यो काम सोचे जस्तो सजिलो भने छैन । सुधारको आवाज उठाउनेहरुलाई समाज भाडा, परम्परा बिरोधी र अधर्मीको आरोप लाग्ने गर्छ ।
त्यसको भुक्तभोगी यो पंक्तिकार स्वयम् हो । केही बर्षअघि  खवतरी बस्नेतहरुको दीवाली पर्वलाई अहिंसात्मक बनाउने सम्बन्धमा ठूलै विवाद भयो । धर्मको नाममा निर्दोष पशुहरुलाई बली चढाउनु हुन्न, नरिवल तथा फलफुलको बलिदिएर दिवाली मनाउ भन्ने यो पंक्तिकारको आग्रह थियो । तर रुढीवादी समाजले यसलाई सहजै स्वीकार्ने कुरा भएन । ठाँउ-ठाँउमा टाँसीएका पोष्टरहरु च्यात्ने, त्यस माथि अपशब्दहरु लेख्ने, अनि धम्काउने सम्मका कामहरु भए । हाम्रो धर्म, परम्परा र संस्कृति माथि धावा बोल्यो भनेर बस्नेतहरुले सामुहिक रुप मै प्रतिवाद गरे ।

किरीया संस्कार तेह्र घन्टा
हाम्रो सामाजिक रीति अनुसार १३ दिनसम्म नुन नखाई, एक छाक खाएर, कसैलाई नछोई मृत्यू संस्कारको कडा नियममा बाँधिएर बस्नु पर्ने पाहाडे हिन्दुहरुको परम्परा छ । यो संस्कार कहिलेदेखि र कस्ले चलायो भन्ने कुराको कुनै आधार छैन । कहिले-काहीं सुधारका कुराहरु सुनिए पनि चलनको रुपमा स्थापित भएका छैनन् । त्यस्ता सुधारात्मक कार्यहरु मिडियाको घेराबाट बाहिरै पर्छन् ।

सुधारका विभिन्न तरिकाहरु हुन सक्छन् । १३ दिनको सट्टा १३ घन्टामा छोट्याउन सकिन्छ । मृतकको फोटो अघि १३ दिनसम्म बक्ति बालेर, हरेक विहान फूल चढाएर, मृतकले गरेका असल कामको संझना गरेर किरीया गर्न सकिन्छ । तेह्र दिनसम्म परिवारका सदस्यले मासु, चुरोट, खैनी, बीडीं, जाँड रक्सी पूर्णरुपमा बार्न सकिन्छ । जानी बुझि मनले खराव नचिताउने, नैतिक तथा सामाजिक रुममा खराब आचरणका कार्यहरुबाट टाढै बस्ने, मनोरन्जन जन्य कार्यमा सहमागी नहुने, रिस झै झगडा, मुद्दा वा विवादबाट टाढै बस्ने आत्म नियम बनाउन सकिन्छ । यो पंक्तिकारसँग यस्तै गरेरे स्वर्गीय पिताको किरीया गरेको अनुभव छ 

मृतकको बार्षिक श्राद्ध पनि परम्परागत भन्दा फरक तरिकाले गर्न सकिन्छ । पिण्ड (खीरको डल्ला) खोलामा बगाएर, ब्राम्हण पढाएर, दान दक्षिणा दिएर मृतकको श्राद्ध गर्ने पुरानो परम्परा हो । यसलाई पनि सुधारको रुपमा मृतकको फोटोमा शुद्ध मनले, पानी, फूल, अगर बत्ति बालेर वास्तवीक श्राद्ध गर्न सकिन्छ । श्राद्ध गर्नुको कारण स्मरण गर्नु हो । मृतकको स्मरण कुनै पनि तरिकाले गर्न सकिन्छ । उनको नाममा कुनै पनि राम्रो काम गरेर, गरिव दुःखी र असहायहरुलाई सेवा मुलक कार्य गरेर, समाजमा सेवा पुग्ने कुनै पनि भौतिक विकासका कामहरु गर्ने सुधारका विकल्पहरु हुन सक्छन ।

समाजका हरेक कुराहरु परिवर्तनशील छन् । कानून संसोधन हुन्छ, प्रविधी परिस्कृत हुन्छ, शैली र तरिका समय र परिवेश संगै बदलिन्छन् । केटाकेटी उमेरमा हिजो हामी गट्टा खेल्थ्यौ, आजभोलि कम्पूटर, आइपड, भिडियो गेम खेल्छन् । समाज र संसारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । तर हाम्रो परम्परा कहिल्यै सुधार्ने प्रयत्न गरिएन । खास गरि धर्मको आडमा चल्दै आएका सामाजिक परम्पराहरु बदलिएनन् । परम्परा बन्दै हुनु पर्छ भन्ने होइन तर समयको निश्चित कालखण्डमा सुधार चाँही पक्कै हुनु पर्दछ । सयौ बर्ष अघि निर्धारण गरिएका यी चलन, र परम्पराहरु समयसँगै सुधार नहुने हो भने मान्छेहरुले क्रमशः छोड्दै जान्छन् ।

१३ दिनसम्म क्रियापुत्रीले अत्यन्त जटिल प्रकृया अपनाउनु पर्ने परम्परा अन्य समुदायका हिन्दूहरुमा छैन । नेपाल कै तर्राई क्षेत्र र अन्य देशका हिन्दूहरुको मृत्यु संस्कार छोटो र सजिलो खालको छ । किन पाहाडे हिन्दूहरुको मात्र मृत्यू संस्कार अन्यको भन्दा कठिन, र लामो भयो ? उत्तर कसैसँग छैन ।

वास्तवमा यो प्रकृया लैगिंक दृष्टिकोणले पनि भेदभावपूर्ण छ । श्रीमानको मृत्यू हुँदा श्रीमती यो कठिन प्रकृयामा सहभागी हुनुपर्ने तर श्रीमतीको मृत्यूमा श्रीमानले केही गर्नु नपर्ने । आखिर यस्तो किन त यसको पनि तथ्यपरक उत्तर छैन । लोग्ने मर्दा श्रमतीसँगै चितामा बस्नुपर्ने "सति-प्रथा" यस्तै सामाजिक विभेदको एउटा नमुना हो, जुन दसकौं अघिदेखि मान्न छाडिएको छ । पुरुषबादी कतिपय समाजमा महिलालाई दास वा सेवकको रुपमा हेर्ने गरिन्छ । लोग्नेलाई सम्मानपूर्ण भाषामा सम्बोधन गर्नुपर्ने र श्रीमतीलाई हेलाको भाषाले बोलाउनु पर्ने यस्तै सामाजिक विभेदको अर्को उदाहरण हो । छोरीले किरीया बस्नु हुँदैन, छोरो नभए स्वर्ग गइँदैन भन्ने अन्ध-विश्वासको कारण हाम्रो जस्तो पिछडिएको समाजले छोरीहरुप्रति भेदभाव गर्ने गरेको छ । यसैले हाम्रो समाजमा छोरा जन्माउने चाहानाले बग्रेल्ती सन्तान भएका परिवार धेरै छन् ।

धर्म मानव समाजले सृजना गरेको हो । धर्मले समाज सृजना गरेको होइन । धर्मलाई शासकहरुले राज्य संचालनको लागि प्रयोग मात्र गरेका थिए । विश्वका सबै जसो मुख्य धर्महरु शासन व्यवस्थाको माध्यम बनेका छन् । धर्मको आधारमा समाजलाई बन्धनमा राख्न सजिलो हुने भएकोले शासकहरुले यस्लाई कानूनको रुपमा लागू गरेका हुन सक्छन् ।  कतिपय देशहरु आज पनि धर्मको आडमा शासन व्यवस्था चलेका छन् । मुख्यरुपमा हिन्दु, बौद्ध, क्रिश्चियन, इस्लामका धर्म ग्रन्थहरु कानुनको रुपमा प्रयोग भएको पाइन्छ । अधिकांश धर्मका अध्यताहरु वा सर्जक त्यसबेलाको समाजलाई असल सन्देश दिने व्यक्तिहरु हुन् । बुद्ध, राम, मोहम्मद र जेसस् क्राइस्ट सबै हाम्रो समाजका गुरुहरु हुन । उनीहरुको मृत्यु पछि समाजले उनिहरुलाई भगवानको मान्यता दिएको मात्र हो । वास्तवमा भगवान र स्वर्ग आजसम्म पनि हल्लाकै रुपमा रहेको छ । त्यसो त प्रकृतिलाई भगवान मान्ने चलन पनि छ ।

धर्मको आडमा चलेका हाम्रा परम्पराहरुलाई सुधार गर्ने निश्चित निकाय छैन । त्यसैले सयौ बर्षदेखि  यी परम्पराहरु नचाहेर पनि चली रहेका छन् । खीरका डल्ला खोलामा बगाएर, १३ दिन सम्म कठोर किरीया बसेर, ब्राम्हाणलाई गाई दान गरेर मात्र हाम्रा पित्री बैतर्णी तर्ने (स्वर्ग जाने) भए त्यसो नगर्ने ५ अर्बभन्दा ज्यादा पृथ्वीबासी स्वर्ग जाँदैनन त, तर्क गर्न सकिन्छ । तथ्य र आधार जे भए पनि धार्मिक रुढिबाढलाई तर्कले बदल्न गाह्रो हुन्छ । आम मानिसमा चेतना नआएसम्म बलि प्रथा, रजस्वला हँुदा छिडीमा बस्नु पर्ने "छौपडी"  प्रथा, दलितले घर भित्र पस्न नपाइने "छुवाछुत" प्रथा, जस्तै किरीया प्रथा समाजमा जकडी रहन्छन ।

पाहाडे हिन्दूको किरीया प्रथा अबैज्ञानिक मात्र होइन अव्यवहारीक समेत छ । भकारीको अन्न झिकेर किरीया गर्दा त खासै फरक नपर्ला, तर यूरोप अमेरिकाको जस्तो आज कमाएर आजै खाने समाजमा यो संस्कार धान्न निकै गाह्रो पर्छ । तेह्र दिनसम्म परिवारले काम नगर्ने हो भने चौधौं दिनको दिन सपरिवार सडकमा आउनु पर्ने स्थिति हुन्छ । त्यसैले सामाजिक, आर्थिक र व्यवहारीक कारणले गर्दा पाहाडे हिन्दूले मान्दै आएको १३ दिने किरीया संस्कारलाई १३ घन्टामा झार्न जरुरी देखिन्छ । यसको लागि हिन्दू धर्मका व्याख्याता, पण्डित, धार्मिक संघ-संस्थाहरु र मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
Originally published in Nepali Post, Washington DC