Saturday 4 April 2009

समयले धोका दिए पछि


अप्रिल 2 तारेख, बेलायतको पररास्ट्र मन्त्रालयले आयोजना गर्ने छलफल कार्यक्रममा भाग लिन लन्डन जाने कार्यक्रम झन्डै पन्ध्र दिन पहिला नै तय भएको थियो । मैले अघिल्लो दिन नै बिद्युतिय हुलाकबाट लन्डन् आउने समय आयोजकलाई बताइ सकेको थिँए । निर्धारित समय अनुसार बिहान ११:१४ बजे लन्डन् किङ क्रस रेल स्टेसनमा पुग्नु पर्ने थियो । बिहान ६ बजे घडीको आलाराम बज्छ । म हतार हतार उठ्छु । बिहानको नित्य कर्म सिध्याएर चिया नास्ता खान्छु । घडीले ७ बजाइ सकेछ । ८:५१ रेल छुट्ने समय । म हतार हतार योर्क रेल स्टेसन् तर्फ लाग्छु । समय केही बाँकी नै भएकोले हिंडेरै स्टेसन पुग्छु । घडी हेर्छु २० मिनेट बाँकी नै छ रेल छुट्न । प्लटफर्म पुग्दा रेल मलाई छोडेर एक घण्टा पहिला नै लन्डन् तिर लागि सकेछ । स्टेसनको घडी हेर्छु ९: ४० , मेरो घडी हेर्छु ८: ४० । मैले सपना हो कि बिपना के हो छुट्याउन सक्तिन । टिकट काउन्टर तिर लाग्छु । काउण्टरकी महिलाले रेल एक घण्टा पहिलानै छुटी सकेको बताउछिन । म भिरबाट खसे जस्तै महसुस गर्छु । म बाहिर निस्कन्छु । म जस्तै अर्का पीडित पनि भेटीए । हामी दुइको काहानी उस्तै । पिडा उस्तै । पछी वास्तविकता बुझ्दा, UK को समय एक घण्टाले छिटो भैसकेको रहेछ । एसै हप्ता मात्र समय फेरिएको रहेछ । हामी भनि उही पुरानो समयलाई पछ्याइरहेका ।
लन्डन् किङ क्रस स्टेसनमा पिस ब्रिगेडकी louise Winstanley पर्खेर बसेकी छिन् मिटिङमा सँगै जान भनेर । घटनाको काहानी बताउन म सँग उनको फोन छैन । उता मिटिङमा जसरी भए पनि नपुगी भएको छैन । उपाए खोज्न फेरी काउन्टर तिर लाग्छु । तपाईंले अर्को टिकट लिनु पर्छ - काउन्टरबाट जवाफ मिल्छ । टिकेट को मुल्य ८४ पाउन्ड, झन्डै १०,००० नेपाली रुपैया । York बाट लण्डन पुग्न २ घण्टा लाग्छ । फेरी अर्को समस्या । नजाउ भने त्यति महत्वोपूर्ण छलफल कार्यक्रम , जाउ भने दोहोरो खरच, त्यस्मा पनि १ घण्टा ढिलो । म दो मनमा पर्छु । हैन, जानै पर्छ - मेरो भित्री मनले भन्छ । टिकट किन्छु । रेल भित्र छिर्छु । दिमागमा त्यही घटना घुमी रहन्छ । म दोस लिन तयार छैन । मेरो के गल्ति छ र ! मन मनै सोच्छु । मलाई थाहा छ , मैले त्यसो भनेर सुख पाउनेवाला पनि छैन ।

समयको बहुत ख्याल गरिने युरोपमा म झन्डै १ घण्टा ढिलो गरी लन्डन् पुग्छु । पर्खेर बसेकी लुईसलाई भेट्छु , शिर निहुरिन्छ । माफी माग्छु । वास्तविकता बुझाउने प्रयास गर्छु । हामी दुबै जना गन्त्ब्य तर्फ लाग्छौ

जितमान बस्नेत