Sunday 12 April 2009

म नेपाली विद्यार्थी


मेरो परिचय नेपाली विद्यार्थी हो ।
नपत्याए मेरो परिचय-पत्र हेर्नुस् ।
साझ बिहान नेताको घर चाहरे पनि दिउसो क्याम्पस गएकै हुन्छु ।
काम चाँही क्याम्पसमा राजनीति गर्ने ।
मैले नपढे पछि, अरुले चाँही पढ्नु पर्छ भन्ने के छ र !
तेसैले म पनि पढ्दिन, अरुलाई पनि पढ्न दिन्न ।

कापी किताब त किनेकै छैन ।
नपढ्ने भए पछि किन चाहियो र त्यो !
झोलामा पर्चा पम्प्लेट बोकेकै छु ।
कहिले काही खुकुरी भाला पनि बोक्छु ।
कति उपयोगी छ त्यो ।
कलम जस्तो हो र लुते ।

क्याम्पसका झ्याल ढोका फुटाएर के भो र , मेरो घरको फुटाएको छैन ।
लाइब्रेरी जलाएर पनि के भो र, आखिर मैले नपढ्ने भए पछि ।
नपढे पनि विद्यार्थी नेता भएकै छु क्यारे ।
म नै हुँ भोलिको मन्त्री अनि प्रधान मन्त्री ।
हिजो क्याम्पस जलाउनेहरु आज मन्त्री भएकै छन ।
झन्डा हालेका गाडीमा हुईकिएकै छन ।
मैले पनि त उनिहरुबाट नै त सिके को हो नि राजनीति ।

मलाई देशको बारेमा के मत्लब !
मेरै भबिस्य मलाई थाहा छैन ।
म भोलिको कर्णधार ।
म नेपाली विद्यार्थी ।


जितमान बस्नेत
University of York