Wednesday 15 April 2009

" सरदारले उनको मुखमा पीसाब फेर्यो "


द्वन्द कालमा घटेका कतिपय घटना, आजभोलि सुन्दा जीउनै सिरिङ्ग हुन्छ । युद्द दबाउन राज्य वा सुरक्षानिकायहरुले गरेका हुन् वा बिद्रोहिले युद्दका नाममा गरेका हुन् , त्यस्ता कार्यहरुलाई कुनै पनि रुपमा जायज मान्नसकिदैन । १० बर्ष सम्म चलेको जनयुद्दको क्रममा हजारौ नेपालीले ज्यान गुमाउनु पर्यो ।

जनयुद्द सुरु भएकै महिना रुकुमको पिपल गाउँमा प्रहरिले छ जना खत्री बन्धुहरुलाई याताना दिएर निर्ममता पूर्वक मारेको थियो । यो घटना १० बर्से दोन्द्द कालमा भएका कैयन मध्यको एक हो । यस्ता घटनाले दोन्द्द घटाऊने भन्दा पनि बढाउने काम गर्‍यो । कन्हैयासिंह नामका प्रहरीको कमान्डमा घटेको त्यो घटनाले त्यो बेलामा राज्य दमनको अवस्था कस्तो थियो भनेर अनुमान लगाउन सकिन्छ । कन्हैयासिंह एक प्रहरीका कनिस्ठ अधिकारी थिए । २०५२ साल फागुन १५ गते रुकुमको पीपल गाउँ विकास समितिको मेलगैरीमा गोठमा सुतिरहेका किसान र विद्यार्थीको निर्ममतापूर्वक हत्या गरेर चर्चामा आएका कन्हैयाले २०५६ सालसम्ममा रकुममा सयौं सोझा
गाँउलेलाई मारेका थिए । यसैकारण उनी बढुवा भएर इन्सपेक्टर भए ।

मेलगैरी हत्याकाण्ड जनयुद्धको प्रारम्भमै भएको सबैभन्दा ठूलो घटना हो । सो हत्याको अघिल्लो दिन अर्थात् फागुन १४ गते मेलगैरीको जंगलमा छिमेकी गाउँ बाफीकोटबाट प्रहरी आइबसे । उनीहरू साँझ नपरेसम्म स्थानीय सुराकीको सहयोगमा जंगलमा नै लुकिरहे । त्यस दिन बाफीकोट इलाका प्रहरी कार्यालयमा बिहानैदेखि सदरमुकाम मुसीकोटबाट हेलिकोप्टरले प्रहरी ओसारिरहेको थियो । गाउँलेहरू प्रायः गाउँदेखि माथि भैँसी पाल्ने गोठ मेलगैरी लेकमा रहन्थे । मेलगैरीमा प्रहरी आउने हल्ला चल्यो । गाँउले डरले गर्दा साँझ कामकाज सकेर एउटै गोठमा सुते भने आइमाई केटाकेटी पनि डरले सँगै बसे । रेडियोबाट १४ गते दिलबहादुर रम्तेल मारेको खबर सुनेका मेलगैरीवासी गाउँमा प्रहरी आएमा सबैलाई मार्छ रे भन्ने मानसिकतामा थिए । नभन्दै मेलगैरीमा एउटै गोठमा सुतिरहेका ६ जना खत्री दाजुभाइको एउटै चिहान भयो ।

२९ मार्च २००९ को नयाँ पत्रीकाले घटनाका प्रत्यक्ष दर्शीको भनाइलाई उद्ध्रित गर्दै एक रिपोर्ट प्रकाशन गरेको छ । शान्ता अधिकारी सँग कुरा गर्दै त्यस घटनाका साक्षी सुरेन्द्र भन्छन- एक दिन एक रात लाससँगै हामीलाई थुनेर राखे । भोलिपल्ट मात्र लासहरू बोकाएर रातारात मुसीकोट लगे । त्यो दिनभर र रातभर हामीलाई पानी पिउनसमेत दिएनन् । बच्चाका आमाहरू पनि थिए । बच्चाहरूलाई दूध चुसाउन पनि दिएनन् ।

नयाँ पत्रीकामा शान्ता अधिकारी लेख्छिन, दिनभरि सँगसँगै बारीमा आलु लगाएर साँझको खाना एकै ठाउँमा खाएर सुतेका दाजु र अन्य पाँचजना आफन्तलाई एउटै गोठमा प्रहरीले घेरा हाली मारेको दृश्य सम्झँदा सुरेन्द्रको मन अहिले पनि डरले काँप्छ । उनी त्यतिवेला मात्र १२ वर्षका थिए । सबैभन्दा साना भएका कारणले बाँच्न त बाँचे, तर कहिल्यै नमेटिने डर/त्रास लिएर बाँचे । सपनाजस्तै लाग्ने दाजु र काकाको हत्याले बाँचुन्जेल बिर्सन नसक्ने बताउँछन् उनी । त्यो दिन सम्झँदा सुरेन्द्रको आँखाको डिलमा आँसु टलपल-टलपल गर्न थाल्छ । उनको बोलीमै त्रासदी छ । उनको अनुहार पढ्दा उनी आज १४ वर्षसम्म पनि शोकबाट तंगि्रन नसकेको जस्तो देखिन्छ ।

दिनभर सँगसँगै काम गरेर साँझ सुतेका दाजुलाई राति प्रहरीहरू आएर अनेक यातना दिई मारेको सम्झँदै सुरेन्द गहभरि आँसु पार्दै भन्छन्, 'हामीहरू सबै भँसीगोठसँगै लेकमा बस्थ्याँ । आलु लगाउने काम चलिरहेको थियो । दिनभर आलु लगायौँ । मैले त्यस दिनभन्दा पहिला कहिल्यै प्रहरी देखेको थिइनँ । साँझदेखि नै पानी परिरहेको थियो । गाउँमा पुलिस आउँछ रे भन्ने हल्ला चलिरहेकोले साँझ डरले सबैजना एउटै गोठमा सुत्याँ । बिहान ६ बजे एक्कासि सिठ्ठी बज्यो । सबैजना जर्‍याकजुरुक उठे । मलाई पनि उठाए । गोठबाहिर तीनजना प्रहरी उभिएका थिए । प्रहरीले एक्कासि हल्लाखल्ला गर्दै हामी बसेको गोठवरिपरि घेरा हाले । ढोकामा आएर उभिए । हामी भित्र गजबार लगाएर डरले काम्दै बसेका थियौँ । तर, हामी बसेको ढोका फोरेर भित्र पसे । गाउँले मनरूप बस्नेत पनि प्रहरीसँगै भित्र पस्यो । ऊ नेपाली कांग्रेसको स्थानीय नेता हो । हामी मनरूपले बचाउँला भनी खुसी भयाँ, तर हाम्रो खुसी धेरै समय रहन पाएन । उही मनरूप ढोकाभित्र पस्नेबित्तिकै माओवादी यिनै हुन् भनी चोरआँलाले देखायो । प्रहरीले सुरुमै कुलबहादुर खत्री र मनबहादुर खत्रीलाई समात्यो । मनरूपले दुईजनालाई समाएर कुट्न थाल्यो ।'

उनी घटनाक्रम बयान गर्दै जान्छन्, 'त्यसैवेला दाह्रीवाला प्रहरी ढोकाभित्र छिर्‍यो, त्यसले टाउकोमा पगरी बाँधेको थियो । त्यही पगरीवाला प्रहरी भित्र पसेर कुलबहादुरलाई कुनामा पछार्‍यो । 'तेरा लाल सलाम गर्ने हात यिनै होइनन्' भन्दै कुलबहादुरको दुईवटै हात लट्ठीले हानेर भाँचिदियो । नाताले कुलबहादुर मनरूपको भिनाजु हो । हामी सबै डरले रुन थाल्यौँ । होलेरी चौकी आक्रमण गर्ने तिमीहरू नै होइनौ ? हामी सबैलाई लात्ती र राइफलको कुन्दाले हान्यो । चिच्याएर दाजुलाई समातेँ, प्रहरीले भित्रका सबैलाई समातेर बाँध्यो । कोही गोठको छानो खोलेर भागे । बाहिरका प्रहरीहरू भाग्नेलाई लखेट्दै परसम्म गए, तर समाउन सकेनन् । दाह्रीवाला प्रहरीले गोकर्णलाई झ्यालबाट बाहिर फालिदियो । दाह्रीवालाले सबैका हात पछाडि बाँधेर नमरुन्जेल पिट् भन्यो । पिट्नेवाला थाकेपछि फेरिएर पिट्थे ।'

दाजुको हत्या भएको दृश्य सम्झँदै सुरेन्द्र अझै खुल्दै भन्छन्, 'मारिने ६ जनासँगै बाँधेर राखिएका नागेन्द्र खत्री हात पछाडि बाँधेकै अवस्थामा तल्लो बारीमा हाम्फाले । सरदारले हत्तपत्त गोली हान्यो, तर उनी हामफाल्दै जाँदा सल्लाघारीमा छिरे । उनी भागेको देखेर कुटाइ खाइरहेका खड्गबहादुर खत्री बाँच्ने आशाले डोरी चुँडालेर उफ्रिए र तल्लो बारीमा पुगे । रातभरि पानी परेकाले बारी भिजेको थियो । उनको खुट्टा हिलोमा गाडियो । त्यही वेला प्रहरीले गोली हान्यो । उनी खुट्टामा गोली लागेर भुइँमा लडे । प्रहरीले खड्गबहादुर भएको ठाउँमा गई राइफलको कुन्दाले दाँत झारिदियो । बंगारा भाँचिदियो । सरदारले 'मारिदे' भनेपछि उनको मुख च्यातेर लट्ठी मुखमा कोच्यो । खड्गबहादुर छट्पटाइरहेको समयमा मुखमा लट्ठी खाँद्यो । सरदारले उनको मुखमा पिसाब फेर्‍यो । मुखबाट लट्ठी कोचेर पेटमा पुर्‍याएपछि उनी त्यहीँ छट्पटाएर मरे । उनी मरिसकेपछि लास ल्याएर हामी बाँधेको गोठमा फाल्यो । सरदारले हामीलाई ताली बजाएर हाँस्न भन्यो नत्र पिट्थ्यो । हामीलाई भोलिपल्ट लास बोकाएर मुसीकोट लैजाँदासम्म उनको मुखको लट्ठी झिकिएको थिएन ।'

सुरेन्द्र बताउँदै जान्छन्, 'बूढी आमाहरू बरू हामीलाई मार हाम्रा छोराहरू छाडिदे भन्दै रुन-कराउन थाल्नुभयो । तर, मनरूपले कुलबहादुर र मनबहादुरले लगाइरहेको पटुका खोलेर भैंसीको किलामा बाँधे । नजिकै रहेको बन्चरो टिपेर सिआइडी मनरूपले मेरो दाइ मनबहादुरको खुट्टामा बजार्‍यो । खुट्टाबाट रगतको भेल बग्यो र उनीहरू बसेको ठाउँ पूरै भिज्यो । दाइको खुट्टाबाट निस्किएको रगत पिई नत्र मार्दिन्छु भन्दै सरदारले फेरि चुट्यो । कुलबहादुरकी आमाले सरदारलाई गाली गरिन् । सरदारले उनलाई तल्लो बारीको हिलोमा पछारिदियो । आमाले तँलाई पनि यस्तै होस् भनेर सरापिन् । सरदारले लात्तीले हिर्काउँदै उनको मुखभरि माटो कोचिदियो । कुलबहादुरलाई पिट्दै मनबहादुर भएको ठाउँमा ल्याएर मनबहादुरको मुखमा पिसाब फेर नत्र तेरो खुट्टा पनि मनबहादुरको जस्तो बनाइदिन्छु भन्यो । कुलबहादुरले नमानेपछि उनको आँखामा गोली हानेर ढाल्यो र मनरूपले मुखमा पिसाब फेर्‍यो । त्यतिवेला केही प्रहरीले गोठमा बाँधेकालाई पिट्दै थिए । हामीलाई बाँच्छौँ भन्ने आशै थिएन । डरले गर्दा प्रहरीले हानेको चोटपनि लाग्दैन थियो ।'

यो भयानक कथा वर्णन अझै बाँकी छ । उनी भन्दै जान्छन्, 'प्रहरीहरू गोठभित्र पसेर सबैलाई लात हान्न थाले । पछि ६/७ जना छानो खोलेर भागे । तीमध्ये दलबहादुर अलि बूढा र अशक्त थिए । भाग्न आधा शरीर बाहिर निकालेका थिए, बीचमै अड्किएर छानामै रहेको चुच्चो काठमा अड्किएर रगताम्मे भए । उनी कुनामा पछारिएर घाइते भए । प्रहरीले उनलाई हात बाँधेर गोठको माथिल्लो तलाबाट भुइँमा फ्याँकिदिए । अरूलाई मारिसकेपछि उनलाई पनि त्यहीँ लगेर पल्टायो । दलबहादुर भने मरेको जस्तै गरी लासमाथि नै बसे । सरदार घरीघरी वाकिटकीमा कुरा गरिरहेको थियो । ऊ माओवादीको बैठक कब्जा गरेका छाँै भनिरहेको थियो । पाँचजना मरिसकेका थिए भने दलबहादुर मरेको थिएन । दिउँसो १२ बजेको थियो । मनरूपले मर्दापनि लाल सलाम गरेका छन् भन्दै मरणासन्न अवस्थामा रहेका दलबहादुरलाई गोली हानी मार्‍यो ।'

सुरेन्द्र भन्छन्, 'त्यसपछि एक दिन एक रात लाससँगै हामीलाई थुनेर राखे । भोलिपल्ट मात्र लासहरू बोकाएर रातारात मुसीकोट लगे । त्यो दिनभर र रातभर हामीलाई पानी पिउनसमेत दिएनन् । कतिपयका साथमा बच्चाहरू थिए । बच्चाहरूलाई दूध चुसाउन पनि दिएनन् । बच्चाहरू भोलिपल्ट तिर्खा र भोकले रुन—कराउन थालेका थिए । हामीलाई बाँधेको ठाउँमा तीनजना प्रहरीले पहरा दिएका थिए । हामीलाई एकअर्कासित बोल्न पनि दिएका थिएनन् । हाम्रो गोठका भैंसी, बाख्रा, गाई, गोरु, सबै खोलेर गहुँ बारीमा छोडिएका थिए । गाउँभरिका गाईवस्तुले सबै बाली दुई दिनमा खाएर सखाप पारिसकेका थिए ।'

खत्रीबन्धुहरूको हत्या गरिसकेपछि प्रहरी र स्थानीय सिआइडी दिनभर भोजभतेर गरेको घटना मेलगैरीवासी कहिल्यै बिर्संदैनन् । अर्की पीडित सशिली खत्री भन्छिन् 'बिर्मी र ठुलीले (मनरूपका बहिनीहरू) दही-दूध ल्याए, नजिकैको गोठमा रोटी पकाए । दिउँसो केही प्रहरी लिएर तल गाउँमा आएर रक्सी ल्याएर खुवाए । दिउँसोतिर सबैलाई मारिसकेपछि ठुलीले भरुवा बन्दुक लिएर हामी सबैलाई कुन्दाले हिर्काई । प्रहरीहरू पालैपालो गोठमा खाएर आउँथे, मान्छे मारेको ठाउँमा रक्सीका भाँडाहरू राखेका थिए । जतिसक्दो पिउँथे र ताकत लगाएर हामीलाई पिट्थे । उनीहरूले त्यो हत्याकाण्डपछि आफ्नै घरमा पुलिसचौकी बसाले ।'

प्रहरीले खत्री-परिवारकी कलकुमारी खत्री (विधुवा नारी) लाई बलात्कार गरी अलपत्र पारी भागे । बलात्कारबाट जन्मेको उनको छोरो नन्दकुमार अहिले नौ वर्षका भए । ती आमा-छोरालाई साँझ-बिहान छाक टार्न धौ-धौ छ । किसान र विद्यार्थी खत्रीबन्धुको कायरतापूर्ण हत्यापछि हातहतियारसमेत बरामद गरिएको झूटो हल्ला फैलाइएको थियो । मारिनेहरूमध्ये कुलबहादुर स्थानीय माविमा पढ्थे भने अर्का लालबहादुर खत्री काठमाडौंको आरआर क्याम्पसमा पढ्थे । त्यतिवेला उनी बिदामा घर गएका थिए । बाँकी चारजना सबै किसान थिए । रुकुममा आतंक मच्चाएर सयौं सोझा रुकुमेलीको हत्या गरेका तत्कालीन प्रहरी इस्पेक्टर कन्हैयासिंह सरदार नेपालगन्जमा २०५६ मा माओवादीबाट मारिइसकेका छन् । सिआइडी मनरूप १२ वर्षसम्म भारतमा बसेको थियो । सात महिनाअगाडि मात्र ऊ गाउँमा फर्किएको छ ।

जनयुद्धका सर्वोच्च कमान्डर एवं नेकपा माओवादीका अध्यक्ष प्रचण्डले मेलगैरी हत्याकाण्ड सुनेर युद्धको कार्यनीति परिवर्तन गर्ने निर्देशन दिनुभएको थियो । त्यतिवेला आक्रमक छापामारयुद्ध चलिरहेको थियो । त्यही राति आक्रामक युद्ध रोकेर रक्षात्मक युद्धनीतिमा जाने निर्देशन भएको थियो । मेलगैरीका हत्यारालाई सरकारले अहिलेसम्म कुनै कारबाही गरेको छैन । यसले खत्री-परिवारको मन रोएको छ । दुःखी तथा आक्रोशित खत्री-परिवार भन्छ, 'अब पनि सरकारले कारबाही गरेन भने अर्को युद्ध मेलगैरीबाट हुन्छ, चाहे त्यो मुक्तिका लागि होस् या बलिदानका लागि ।'