Sunday 12 April 2009

मगन्तेको बस्तिमा आज !



आज फेरी उही समाचार सुने मैले ।
मगन्तेलाई बिदेशीले दान दिए रे !
मगन्तेका नेता बिदेश भ्रमणमा जाने रे ।
आखिर जहाँ गए पनि माग्नै जाने त हुन उनी ।

हामीलाई त्यो समाचार के अनौठो थियो र !
हिजो पनि मगन्तेहरु गएकै हुन ।
ईतिहास देखिनै मागेर गुजरा चल्दै छ ।
गौरब नै त हो त्यों पनि , आफूले गर्न नसके पछि ।
मागेर खान पल्केकाहरुलाई ।

आखिर हामी पनि मगन्तेकै सन्तान त हौ नि ।
कोही पशुपतिमा माग्छन ।
कोही ठमेलमा माग्छन ।
कोही बिदेशमा गएर माग्छन ।
जो जहाँ गएर मागे पनि मगन्ते नै त हो ऊ ।

कसैको माग्ने कला बेग्लै ।
कसैको माग्ने बिधी बेग्लै ।
कोही सुट लगाएर मागिरहेका छन ।
कोही नाङै मागिरहेका छन ।
आखिर जे लगाएर मागे पनि मगन्ते नै त हो ऊ ।


कोही पेटको लागि माग्छन ।
कोही रबाफको लागि माग्छन ।
कोही अरुलाई देखाएर माग्छन ।
कोही आँफैलाई देखाएर माग्छन ।
जो जस्लाई देखाएर मागे पनि मगन्ते नै त हो ऊ ।

मगन्तेहरुको बस्तिमा झगडा छ अचेल ।
कोही सडकमा त, कोही सँसदमा झगडा गर्दै छन ।
कोही माग्न नपाएर झगडा गर्दै छन ।
कोही भाग नमिलेर झगडा गर्दै छन ।
मगन्तेहरु माराकाटा गर्दै छन आफू आफूमा ।

तर
म भने कल्पना गर्छु ।
मगन्ते मालिक बन्ने दिन कहिले आउँला ?
मगन्तेले अरुलाई दिने दिन कहिले आउँला ?


जितमान बस्नेत
University of York
United Kingdom